काठमाडौं। हिमालपारीको जिल्ला मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्डको दुई ठाउँमा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ।
बेनी–जोमसोम सडक खण्डको अन्नपुर्ण गाउँपालिका–३ दानाको रुप्सेमा सडक माथिबाट ढुङ्गा खस्दा सवारी आवागमन बिहानै देखि रोकिएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालका अनुसार रुप्से स्थित सडक भन्दा माथिबाट पहिरो सहित ढुङ्गा आएर बिहानै देखि सडक अबरुद्ध भएको हो।
त्यस्तै अन्नपुर्ण गाउँपालिका–७ महभीरमा पहिरोले सडक अबरुद्ध भएको छ। बिहान झरेको पहिरोले सवारी सञ्चालन अबरुद्ध भएको प्रहरीले बताएको छ। महभीरमा सडक माथिबाट झरेको पहिरो हटाउनका लागि डोजर लगाएर काम थालिएको भए पनि सडक खुलाउन भने केही समय लाग्न सक्ने बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ।
बेनी–जोमसोम सडक खण्डको बेगखोला स्थित खोलाबाट सवारी तार्नु पर्ने हुँदा जोखिम छ भने महभीर पहिरोले रोकिएको छ। रुप्सेमा पनि सडक अबरुद्ध हुनुका साथै काभ्रे भिरमा पनि लगातारको वर्षाले गर्दा हिलाम्मे हुँदा निकै जोखिम रहेको बताइएको छ।