काठमाडौं। पश्चिम सुर्खेतको बराहताल गाउँपालिका र पञ्चपुरी नगरपालिका जोड्ने बड्डीचौर–खम्बागाडे सडकको शिलान्यास गरिएको छ। भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय, पूर्वाधार विकास निर्देशनालय सुर्खेत अन्तर्गत बड्डीचौर–विभ्रेनी–बाबियाचौर विद्यापुर सडकखण्डमा बन्ने उक्त सडकको कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री यज्ञबहादुर बुढाक्षेत्रीले आज शिलान्यास गरेका छन्।
सो अवसरमा सामाजिक विकासमन्त्री बुढाक्षेत्रीले सडक निर्माण, कालोपत्रसहित जिम्मा लिएको अनक–जयदेवी जेभी बाँकेलाई समयमै काम सम्पन्न गर्न निर्देशन दिए। उक्त सडक निर्माणले सुर्खेतको कर्णाली उपनामले चिनिएको पश्चिम क्षेत्रका नागरिकलाई राजधानी वीरेन्द्रनगरसँग जोड्न सहज हुने उनले बताए।
उक्त जेभीका प्रोप्राइटर दिकपाल शाहीले प्रदेश सरकारको रु ४२ करोड ४० लाख लगानीमा सडक निर्माण गरिने बताए। गत असार १४ गते सडक निर्माणको सम्झौता गरेर विसं २०८१ असार २४ गते सम्पन्न गर्ने लक्ष्य लिएर काम सुरु गरिएको उनले बताए।
“हामी अब एक।दुई दिनमै निर्माण सर्भे गर्छौं। तत्पश्चात् सडक खन्ने काम सुरु हुन्छ”, प्रोप्राइटर शाहीले भने, “यो दुई वर्षभित्रै १२ मिटरको सडक खन्ने, ग्राभेल गर्ने र सात मिटरमा कालोपत्र गर्ने काम हुन्छ।” सडक निर्माण कार्यमा स्थानीय तह, प्रदेश सरकार, नागरिक समाज र पत्रकारको साथ सहयोग पाए तोकिएको मितिभन्दा अगावै काम सम्पन्न हुने उनको भनाइ छ।
यो पनिः
एक वर्षमा ७ सय किलोमिटर सडक मात्र कालोपत्र