काठमाडौं। धनुषाको खजुरी रेल्वे स्टेसनमा ‘रेल्वे सङ्ग्रहालय’ निर्माण गरिने भएको छ। जनकपुरबाट २० किलोमिटर पूर्वमा रहेको उक्त स्थानमा करिब दुई करोड रुपियाँको लागतमा सङ्ग्रहालय निर्माण गर्न लागिएको हो।
सङ्ग्रहालयमा नेपालमा पहिलो पटक भित्रिएको रेल पनि प्रदर्शनीमा राखिने भएको छ। रेल विभागका अनुसार नेपालको रेल्वे विकासक्रमलाई सङ्ग्रहालयमा देख्न पाइनेछ। रेलसँग सम्बन्धित पुराना सामग्री संरक्षण गर्ने उद्देश्यले सङ्ग्रहालय स्थापना गर्न लागिएको बताइएको छ।
विभागका अनुसार भारतमा राज्य गर्दा ब्रिटिसले स्टिम इन्जिनयुक्त रेलको प्रयोग गरेका थिए। दुई सय वर्ष पुरानो स्टिम इन्जिनयुक्त रेल जर्मनीमा बनेको थियो। सो रेल पनि सङ्ग्रहालयमा प्रदर्शनीमा राखिनेछ। उनले यस्तो इन्जिन अहिले नेपालबाहेक अन्यत्र नरहेको दाबी गरे। विगतमा भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज र जयनगर तथा महोत्तरीको बिजुलपुरासम्म सञ्चालन भई अहिले जीर्ण अवस्थामा पुगेका रेलका इन्जिन, डब्बा (बोगी)लगायतका सामग्रीलाई सङ्ग्रहालयमा राखिनेछ। ती सामग्री अहिले खुला आकाशमा छरिएर बेवारिसे अवस्थाम छन्।
सन् १९२७ मा रक्सौल–अमलेखगञ्ज रेल्वे सेवा सञ्चालन भई सन् १९७० सम्म सञ्चालनमा रहेको थियो। सन् १९३७ मा जयनगर–जनकपुर–बिजुलपुरा रेल्वे सेवा सञ्चालन सुरु भएको थियो। २०५९ सालमा आएको बाढीबाट बिग्ही नदीको पुल क्षतिग्रस्त भएपछि उक्त रेल सेवा जनकपुरदेखि जयनगरसम्म सीमित भएको थियो। २०७० सालदेखि बन्द रहेको उक्त रेल्वे सेवा गत चैत १९ गतेबाट सञ्चालनमा आएको छ। यसैगरी तत्कालीन इस्ट इन्डिया कम्पनीले नेपालबाट ढुङ्गा तथा काठ लैजान पूर्वीदेखि पश्चिम नेपालका विभिन्न स्थानमा रेल सञ्चालन गरेका थिए। कतिपय स्थानमा अझै पनि लिक फेला पार्न सकिन्छ।