काठमाडौं। पृथ्वी राजमार्गअन्तर्गत तनहुँको डुम्रे–आँबुखैरेनी सडकखण्ड अवरुद्ध भएको पाँच घण्टापछि सञ्चालनमा आएको छ।
आज बिहान करिब ३ बजेदेखि पहिरोले अवरुद्ध बनेको यो सडकखण्ड पाँच घण्टापछि खुलेको हो। बन्दीपुर गाउँपालिका–५ याम्पा नजिक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको थियो।
सोमबार रातिदेखि परेको अविरल वर्षाका कारण पहिरो खस्दा कयौँ सवारीसाधान राजमार्गमा रोकिन पुगेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए।
लामो समय सवारीसाधन रोकिँदा यात्रुले सास्ती भोग्नुपरेको थियो। डोजरको सहायताले पहिरो पन्छाएपछि अहिले दुवैतर्फी सवारी साधन निर्वाधरूपमा सञ्चालन भएको छ।
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको अन्य सडक खण्डमा भने कुनै अवरोध नभएको उनले बताए।