काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले मंगलबार सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मंगलबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् ।
सोमबारको मन्त्रिपरिषद् बैठकले युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको जानकारी मन्त्री कार्कीले गराए ।
मन्त्री कार्कीले गुणस्तरिय प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परियोजना पहिलो चरण कार्यान्वयनका लागि ९५ करोड रुपैयाँ बराबरको अनुदान सहायता रकम स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
बैठकले सवैको दिगो खानेपानी तथा सरसफाई आयोजनाका लागि युरोपियन युनियनबाट प्राप्त हुने एक अर्ब ३७ करोड रुपैयाँ अनुदान सहायतासमेत स्वीकृत गरिएको उनले बताए ।
बैठकले चलचित्र विकास बोर्डको अध्यक्ष पदमा भुवन केसीलाई मनोनयन गर्ने निर्णय गरेको छ । यस्तै नेपाली मुलका पोलिस नागरिक डा बोधराज सुवेदीलाई पोल्याण्डको वार्सा क्षेत्रभर कार्यक्षेत्र तोकि नेपालको अवैतानिक बाणिज्यदूत नियुक्त गर्ने निर्णय भएको प्रवक्ता कार्कीले बताए। त्यस्तै मन्त्रीपरिषद्ले शहीद गंगाला राष्ट्रिय हृदय केन्द्रको सदस्य पदमा डा प्रकाशराज रेग्मी र डा नविन चन्द्र गौतमलाई मनोनयन गर्ने निर्णय गरेको उहाँले जानकारी गराए ।
बैठकले राष्ट्रिय जनस्वास्थ्य समितिको सदस्यमा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपतिलाई मनोनयन गर्ने निर्णय पनि गरेको छ ।