काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले सोधपुछ र छानबिन सकाएको छ। समितिका सचिव सुरेन्द्र अर्यालले मंगलबार साँझ सोधपुछ र छानबिन सकिएको र बुधवारदेखि प्रतिवेदन लेखनको काम सुरू हुने जानकारी दिए।
सिसिटिभीमा फुटेजबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए नगएको निश्चित नभएको उनले बताए । सोही बमोजिम समिति प्रतिवेदन लेखनको तयारी गरिएको उनको भनाइ छ । उनका अनुसार समिति बैठक बुधवार ११ बजे बस्ने तय भएको छ । प्रतिवेदन लेखनका क्रममा केही छलफल हुन सक्ने उनले बताए ।
यसअघि समितिले अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव र पूर्वमन्त्री शर्मालगायत व्यक्तिसँग सोधपुछ गरेको थियो। जेठ १४ गतेको सिसिटिभी फुटेज माग्दा अर्थले १३ दिनको मात्रै स्टोरेज क्षमता भएकाले त्यो दिनको भिडिओ नभएको जवाफ दिएको थियो।
समितिले मन्त्रालयको सिसिटिभीको रेकर्ड नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा दिएको थियो।
प्रयोगशालाले रिकभर गरेर दिएको विवरणमा भिडिओ प्रष्ट देखिएको थिएन। सिसिटिभी फुटेज प्रष्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग मंगलबार सोधपुछ गरेको थियो।
समितिमा आएका दुई जना विज्ञहरूले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएका थिए। विज्ञहरूले यस्तो जवाफ दिएपछि समितिले प्रतिवेदन लेखनमा तयारी गरेको हो ।
याे पनि:
जनार्दन शर्मामाथि छानविन सकियो, निचोड निकाल्न बाँकी