काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपाल भ्रमणमा आउनुभएका बङ्गालदेशका जलस्रोत सचिव कविर बीन अन्वरले शिष्टाचार भेटवार्ता गरेका छन्।
ऊर्जा मन्त्रालयमा बुधबार भएको भेटमा ऊर्जामन्त्री भुसालले नेपालको ऊर्जा क्षेत्रमा लगानीका लागि बङ्गलादेशले देखाएको चासोप्रति आभार व्यक्त गर्दै शीघ्र कार्यान्वयनको तहमा लैजाने गरी काम गर्नुपर्नेमा जोड दिइन्।
नेपाल सहकार्यका लागि तयार र इच्छुक रहेको जानकारी दिँदै मन्त्री भुसालले आवश्यक वातावरण बनाउन सचिव कविरमार्फत त्यहाँको सरकारलाई समेत आग्रह गरिन् । मन्त्री भुसालले बिहीबारदेखि सुरु हुन लागेको जलस्रोत सचिवस्तरीय बैठकको सफलताको कामना समेत गरिन् ।
सो अवसरमा बङ्गलादेशका जलस्रोत सचिव कविरले ऊर्जा क्षेत्रमा सहकार्य गर्न आफूहरु तयार रहेको बताए । उनले भारतीय प्रसारण संयन्त्रको प्रयोग गरेर मात्रै बिजुली लैजानुपर्ने भएकाले त्यसका लागि पनि पहल भइरहेको बताए ।
बिहीबार र शुक्रबार आयोजना हुने नेपाल र बङ्गलादेश सचिवस्तरीय जलस्रोत समितिको बैठकमा दुई देशबीचको आपसी सम्बन्ध र ऊर्जा जलस्रोेत क्षेत्रको सहकार्यमा विभिन्न आयामका बारेमा छलफल हुने कार्यक्रम छ ।