काठमाडौँ । देशको उत्तरी नाकाबाट राजधानी जोड्ने बालाजु–रानीपौवा–पीपलटार सडक तत्काल निर्माण तथा स्तरोन्नति गर्न सरकारलाई निर्देशन दिइएको छ। बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिको बैठकमा बालाजु–पीपलटार निर्माण कार्य तत्काल अगाडि बढाउने व्यवस्था मिलाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो ।
समितिले भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन नुवाकोट जिल्लाअन्तर्गत सडकखण्ड ठेक्का रद्द भई निर्माण अवरुद्ध भएकोले निर्माण कार्य तत्काल अगाडि बढाउने व्यवस्था मिलाउन मन्त्रालयलाई निर्देशन दिने निर्णय गरेको हो।
समिति सभापति कल्याणी खड्काले भनिन्, ‘मित्रराष्ट्र भारतको एक्जिम बैंकको सहयोगमा निर्माणाधीन नुवाकोट जिल्लाअन्तर्गत बालाजु–रानीपौवा र रानीपौवा–पीपलटार सडकखण्ड स्तरोन्नतिको कार्य गर्दा साविकमा भएको पिच तथा ड्रेनहरु भत्काई डोजर लगाई क्षतविक्षत बनाई हालसम्म सम्पन्न नभएको विषयलाई ध्यानमा राखि समितिको मिति २०७८/१०/२८ गतेको बैठकबाट गुणस्तरयुक्त र समयमा सम्पन्न गर्न निर्देशन भइसकेको थियो। हाल सडकको ठेक्का रद्द भई निर्माण कार्य अवरुद्ध भएको सन्दर्भमा देशको उत्तरी नाकाबाट राजधानी जोड्ने त्यस्तो महत्त्वपूर्ण सडक निर्माणको कार्य तत्काल अगाडि बढाउने आवश्यक व्यवस्था मिलाउन समिति नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’