मोरङ । डुबानमा परेको विराटनगर विमानस्थल तीन दिनपछि सञ्चालनमा आएको छ । दुई दिन देखिको अविरल वर्षाका कारण विराटनगर विमानस्थल डुबानमा परेपछि अवरुद्ध भएको हवाई सेवा शनिबार बिहानदेखि सञ्चालनमा आएको हो।
नागरिक उड्ययन कार्यालय विराटनगरका प्रमुख उत्सव खरेलले शनिबार बिहानदेखि हवाई सेवा सञ्चालनमा आएको बताएका हुन् ।
विमानस्थलका उपकरणहरु पानीमा डुबेकाले रात्रीकालिन उडान भने केही दिन नहुने बताइएको छ । खरेलका अनुसार शनिबारको पहिलो उडान साढे ८ बजे यति एयरको हुने छ।
विराटनगर विमानस्थलबाट दैनिक बुद्ध एयरले ९, यति एयरले ५, सौर्य एयर र श्री एयरलाइन्सले ४–४ र गुण एयरले एक उडान गर्दै आएका छन् ।
विमानस्थलको धावनमार्ग, पार्किङ एरिया जलमग्न भएपछि मंगलबारदेखि विराटनगरबाट हुने सबै उडान तथा अवतरण रोकिएको थियो ।