काठमाडौं। काठमाडौं महानगरपालिकाले यापर ‘यमबुद्ध’ को नाममा पार्क बनाउन बजेट छुट्याएको छ। र्यापर यम बुद्धको नाममा काठमाडौं नगरपालिका–१६ खुसिबुस्थित नयाँबजारमा रहेको जग्गामा पार्क बनाउन महानगरले साढे एक करोड बजेट विनियोजन गरेको हो।
काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले नयाँ बजारमा रहेको ७ रोपनी जग्गामा पार्क निर्माण गर्न प्रक्रिया शुरु भएको जानकारी दिए। पार्कभित्र यमबुद्धको शालिक समेत बन्ने महानगरको भनाइ छ।
प्रवक्ता मानन्धरका अनुसार उक्त पार्क निर्माणका लागि एक करोड ५० लाख बजेट विनियोजन गरिएको छ। यमबुद्धको नाममा बन्ने पार्कमा अरू पार्कमा हुने सुविधा सबै हुने मानन्धरले बताए।
पार्कमा बच्चाहरू खेल्नका लागि स्केटिङ पार्क पनि बनाउने योजना रहेको महानगरले जनाएको छ।
यसअघि यमबुद्धको शालिक बनाउन भनेर महानगरले एक करोड बजेट विनियोजन गरेको थियो। उक्त निर्णयले महानगर विवादित समेत बनेको थियो। पछि मेयर बालेन शाहले आफ्नै तलबबाट यमबुद्धको शालिक बनाउने घोषणा समेत गरेका थिए।
अहिले बजेटमा थप्ने क्रममा नयाँ कार्यक्रम राखी उक्त कुरा थपेर बजेट ल्याएको महानगरले जनाएको छ। विरोध र विवादकाबीच महानगरले बजेट थप गरेर यमबुद्धको नाममा पार्क नै निर्माण गर्ने निर्णयसहित प्रक्रिया अघि बढाएको छ।
याे पनि:
र्यापर गायक यमबुद्धको सालिक निर्माण हुने