काठमाडौं । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न बनाइएको बुद्धमूर्ति भैरहवा आइपुगेको छ । निर्माणाधीन गौतमबुद्ध विमानस्थलमा राख्न बनाइएको दुई करोड १६ लाख अमेरिकी डलरको बुद्धमूर्ति भैरहवा ल्याइएको हो ।
बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइएको हो। लुम्बिनी गार्डेन फाउण्डेसनमार्फत् म्यान्मार सरकारले नेपाल सरकारलाई उक्त मूर्ति उपलब्ध गराएको हो ।
करिब दुई अर्ब ५० करोड नेपाली रुपैयाँ पर्ने उक्त मूर्ति म्यान्मारका भिक्षुहरूले ६ महिना लगाएर कुदेका हुन् । नेपाल सरकार र लुम्बिनी गार्डेन फाउण्डेसनको मूल्य नपरेको उक्त मूर्ति ल्याउँदा लागेको १२ हजार अमेरिकी डलर ढुवानी खर्च भने फाउण्डेसनले बेहोरेको छ र नेपाल सरकारले भन्सार शुल्क छुट दिएको छ।
स्पेनमा रहेको लुम्बिनी गार्डेन फाउण्डेसनका लागि म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले उक्त बुद्धमूर्ति फाउण्डेसनले बुद्ध र लुम्बिनीबारे विश्वमा शान्ति र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल ल्याएको फाउण्डेसनले जनाएको छ ।