काठमाडौं। चोभार सुख्खा बन्दरगाह पूर्ण क्षमतामा प्रयोगमा नआएपछि पार्किङ र गोदाम सञ्चालन गरिने भएको छ। इन्टरमोडल यातायात विकास समितिले बन्दरगाह क्षेत्रमा पार्किङ, गोदाम, निर्यातजन्य वस्तुको प्रोसेसिङ र प्याकेजिङसम्म गर्न दिने गरी गृहकार्य गरेको हो ।
बन्दरगाहलाई दुई भागमा विभाजन गरेर एकतर्फ आन्तरिक लजेस्टिक हब र अर्कोतर्फ आयात–निर्यात क्षेत्र बनाउन लागेको विकास समितका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
उनले भने, ‘निर्यात मुलुक उद्योगलाई निश्चित भाडा र सुविधामा निर्यात प्रबर्द्धन गर्ने हिसाबले फाष्ट ट्र्याक नबन्दासम्म बन्दरगाहलाई लजिस्टिक हबको रुपमा अघि बढाउन खोजिएको छ। संरचना बन्ने बित्तिकै प्रयोगमा आउन समय लाग्ने भएकाले आन्तरिक प्रयोजनमा ल्याउदा संरक्षण पनि हुन्छ, प्रयोग पनि हुन्छ ।’ लजेस्टिक हबको रुपमा आगामी तीन महिनाभित्र सेवा दिने र यसका लागि ९० रोपनी जग्गा प्रयोगमा आउने समितिले जनाएको छ ।
यो सुविधा अन्तर्गत अन्तरिक व्यवस्थापनसहित व्यवसायीले पार्किङ र गोदामको रुपमा प्रयोग गर्न पाउँछन् ।
तराईमधेश फाष्ट ट्र्याक बनेर बन्दरगाह पूर्ण सञ्चालनमा आएपछि भने अन्तरिक व्यवस्थापन हट्ने गरी योजना बनेको समितिले जनाएको छ । गत २२ चैतदेखि सञ्चालनमा आएको बन्दरगाहमा हालसम्म १६ वटा ट्रक माल वस्तु भित्रिएको छ ।