रुकुमपश्चिम। राप्ती लोकमार्गको सल्यान–रुकुम सडकखण्डअन्तर्गत जिल्लाको त्रिवेणी गाउँपालिका–३ र ६ नम्बर वडास्थित ढाँरेगैराको रुट पाँचौँ पटक फेरिएको छ। उक्त रुट २२ वर्षमा पाँचौँ पटक फेरिएको हो।
पटक पटक एउटै स्थानमा रुट फेर्दा सडक छेउका जग्गा सखाप भएको स्थानीय बासिन्दाको गुनासो रहेको छ। पहिरो र हिलोका कारण यातायात सेवा अवरुद्ध हुन थालेपछि त्यस ठाउँमा पाँच पटक नयाँ रुट खोलिएको सडक डिभिजन कार्यालय चौरजहारीले जनाएको छ।
पहिरो र भू–क्षयका कारण खौला–झुल्नेटा–ढाँरेगैरा सडकखण्डमा २२ वर्षमा पाँच पटक रुट परिवर्तन गरिएको बताइएको छ। हिउँदमा धुलो, वर्षामा हिलो र पहिरोका कारण ढाँरेगैरामा यात्रुले हैरानी खेप्दै आएका छन्। सडकमा गाडी चल्न थालेपछि ढाँरेगैरा सडकखण्ड पाँच पटक भासिएको छ।
सडक डिभिजन कार्यालयले यस पटक २५० मिटर नयाँ रुट निर्माण गरेको जनाएको छ। यस्तै पुरानो सडक भासिएपछि त्यसको माथिल्लो भागमा नयाँ रुट खोलिएको र सो रुट खोलिएपछि यातायातका साधन आवतजावतमा सहज भएको कार्यालयको भनाइ छ। स्थानीयले स्थानीय चार परिवारको जग्गा सडकमै सकिएको बताएका छन्। पहिलो पटक सडक बन्दा खुसी भएका स्थानीयलाई अहिले सडकले नै उठिबास लगाउने जोखिम बढेको छ।
क्षतिपूर्तिबिनै सडक डिभिजन कार्यालयले सडक विस्तार गरेपछि स्थानीयवासी निकै पीडित बनेका छन्। सडककै कारण जमिन भासिदै गएको उनिहरुको भनाइ छ।
यो पनिः
ठेकेदारको लापरबाही, सडक निर्माण अलपत्र