काठमाडौं। हङकङको ध्वजाबाहक वायुसेवा क्याथे प्यासिफिक एयरवेजले असोज १५ देखि हङकङ–काठमाडौं साप्ताहिक रुपमा उडान गर्ने भएको छ ।
यस वायुसेवाको नेपाल प्रमुख जुनु मलेकुका अनुसार नागरिक उड्डयन प्राधिकरणबाट साप्ताहिक एक उडानको अनुमति पाएको क्याथेले यात्रुको माग अनुसार उडान संख्या बृद्धि गर्ने छ ।
०७६ चैत्रमा कोभिड संक्रमण सुरु भएसँगै नेपाल सरकारले कोरोना महामारी रोकथामका लागि लकडाउन गरेपछि क्याथेले यात्रु उडान बन्द गर्दै मेडिकल कार्गो सुरु गरेको थियो ।
उसले अहिले पनि काठमाडौंबाट सातामा एउटा कार्गो उडानबाट हस्तकला, गलैचा लगायत उत्पादन लैजाने गरेको छ भने हङकङबाट मेडिकल र इलेक्ट्रोनिक लगायत सामान ल्याउँदै आएको छ ।
क्याथेबाहेक नेपालबाट सातामा एक दिन राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमले उडान गर्दै आएको छ । निगमका अनुसार कोभिडका कारण नेपालबाट हङकङ जाने यात्रुले अहिले एक साता होटल क्वारेन्टाइनमै बस्नुपर्ने नियम अनिवार्य गरेको छ ।