काठमाडौं । नेपाल विद्युत प्राधिकरणले अरुण ४ जलविद्युत आयोजनाको अनुमतिपत्र पाउने भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा विद्युत विकास विभागले अरुण ४ को सर्वेक्षण अनुमतिपत्र प्राधिकरणलाई दिने तयारी गरेको हो ।
अरुण ४ पनि प्राधिकरणले पाउने प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्ट पारेका छन् । उनले अरुण ४ पनि प्राधिकरणले पाउन लागेको पुष्टि गर्दै माथिल्लो अरुण र अरुण ४ गरी करीब १५ सय मेगावाटको परियोजना एउटै नदीमा प्राधिकरण आफैंले एक साथ अघि बढाउन सक्ने बताएका हुन् । अब प्राधिकरणले सहायक कम्पनीमार्फत आयोजनाको निर्माण गर्नेछ ।
प्रदेश–१ को संखुवासभाको भोटखोला र मकालु गाउँपालिका भएर बग्ने अरुण नदीको पानी प्रयोग गरेर अरुण ४ आयोजना बनाउन प्रस्ताव गरिएको छ । यो आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन भइसकेको छ ।