काठमाडौं। रुपन्देहिमा सडक निर्माण नसकिदै भासिन थालेको छ। रुपन्देहिको बेलहिया व्यापारिक मार्ग निर्माण नसकिदै भासिन थालेको हो।
२०६९ सालदेखि निर्माण सुरु भएको आयोजना हालसम्म सम्पन्न भएको छैन। सडक निर्माणमा अहिलेसम्म ६ अर्व भन्दा बढी लागत सकिसकेको छ भने, चार करोड भन्दा बढी लागत मर्मतमा मात्र सकिएको छ।
उक्त सडकका भारवहन क्षमताभन्दा बढी भार पर्ने गरी सवारी साधनबाट समान ढुवानी गर्दा सडक विग्रिएको हो। ६ लेनको सडकको दायाँ पट्टिको भाग भासिएको छ भने, बायाँ पट्टिको भाग यथावत रहेको छ। दायाँ पट्टिको लेनबाट सडकको भारवहन क्षमताभन्दा बढी समान बोकेर भारतबाट सवारीसाधन आउने गरेकाले दायाँ पट्टिको भाग भासिएको हो।
सडकको क्षमताभन्दा बढी लोड भएका सवारीसाधन भारतबाट आउने भएकाले सडकले आफ्नो क्षमताभन्दा बढी लोड कन्ट्रोल गर्न नसकेर सडक छिटो–छिटो विग्रन पुगेको बेलहिया बुटवल व्यापारिक मार्ग विस्तारकी सूचना अधिकारी सबिता ज्ञवालीले बताइन्।
उक्त व्यापारिक मार्ग अस्फाल्ट कङ्क्रिट प्रविधिबाट बनेको सडक हो। यो प्रविधिबाट निर्माण भएको सडकको समय अवधि (आयु) आठ वर्षसम्मको हुने गर्दछ। तर यो सडक समयसमयमा भासिने गरेकोले स्थानीय समस्यामा पर्दै आएका छन्। सडकको क्षमता दश दशमलव दुई टन प्रति एक्सल हो। तर, प्रति एक्सल दोब्बर तेब्बर समान बोकेर भारतिय सवारीसाधन आउजाउ गरिरहेका छन्।
सडकको क्षमता भन्दा बढी भार बोकेका सवारीसाधनहरु शुल्क लिएर सुरक्षा कर्मीहरुलेनै प्रवेश गराईरहेका छन्। रुपन्देहिका ट्राफिक प्रहरी प्रमुख केशब केसी भन्छन्, "लोड भन्दा बढी क्षमता छ भने तत्काल जरिवाना गछौं।" तर, "त्यो भन्दा अन्य प्रक्रिया अगाडी बढाउन परेमा समन्वयात्मक तरिकाले सबै निकायहरुको समन्वय र भुमिकामा मात्र अगाडी बढ्न सकिन्छ।"
निर्माण सम्पन्न नभई भासिएको सडकका कारण सर्वसाधारणले समस्या झेल्नु त परेकै छ। यसका साथै मर्मतमा मात्र यती धेरै लगानी गर्दा सरकारलाई पनि ठूलो घाटा पुग्ने देखिन्छ। यस्ता समस्यामा सरोकारवाला निकायको समयमै ध्यान पूग्न जरुरी देखिन्छ।