कालीकोट। हिल्सा जोड्ने कर्णाली कोरिडोर एक हप्तादेखि बन्द छ। दैनिकजसो पानी परेपछि भर्खरै खुला गरिएको ट्र्याक हिलाम्मे भएका कारण यातायात सञ्चालन हुन सकेको छैन। कोरिडोरको लाफा सडकखण्ड आइतबारदेखि बन्द भएको छ। सडकमा गाडी फसेको अवस्था छ।
फसेको गाडी निकाल्ने कुनै साधन नहुँदा यातायात व्यवसायी समस्यामा परेका छन्। हिलो सडकमा ढुङ्गा–माटो हाल्दै मालवाहक गाडी पार गराउन हम्मे–हम्मे भएको चालकहरु बताउछन्।
पचालझरना गाउँपालिका–८ मा पर्ने सो क्षेत्रमा सडकमै पानीको मूल फुट्ने भएकोले दैनिकजसो हिलो बगिरहन्छ। त्यही हिलोमा सामानले भरिएका गाडी सञ्चालन हुन नसकेर हप्ता दिनदेखि यातायात ठप्प छन्। सडक खुला गर्ने विषयमा स्थानीय प्रशासन पनि मौन भएपछि समस्या झन् बढेको बताइएको छ।
यता कर्णाली लोकमार्ग पनि दैनिक अवरोध भइरहेको छ । पानी पर्दा बन्द हुने गरेको छ । गत वर्षभन्दा यो वर्ष भने अलि कम समय अवरोध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।