काठमाडौं। प्रदेश नं. १ का ६ जना संघीय सांसदहरुले राँके–रवि–भेडेटार सडक कालोपत्रेको ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कालो सूचीमा राख्न माग गरेका छन्। सांसदहरुले भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राईलाई भेटेर सडक कालोपत्रेको ठेक्का रद्द गरी निर्माण कम्पनीलाई कालोसूचीमा राखेर नयाँ ठेक्का प्रकृया अघि बढाउन माग गरेका हुन्।
निर्माण कार्य पूरा गर्न र जनतामा सडक योजनाको निर्माण कार्य पुरा हुनेछ भन्ने विश्वास दिलाउन नेकपा (एमाले) संघीय संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङसहित संघीय संसद् सदस्य वसन्तकुमार नेम्वाङ, राजेन्द्रकुमार राई, जयकुमार राई, घनश्याम खतिवडा, संविधान सभा सदस्य टीकाराम चेम्जोङ, मोरङको केरावारी गाउँपालिकाका अध्यक्ष सुमन मिरिङ्चिङ्ग सहितले माग गरेका हुन्।
उक्त विषयमा संसदमा कुरा उठेपछि आफुले यस विषयमा अध्ययन गरेको मन्त्री राईले बताए । प्रतिनिधि मण्डललाई जवाफ दिँदै राईले भने, “अब यो बारेमा सोच्ने बेला भएको छ । दुई–दुई पटक म्याद थप भएको छ । यसबारे ७ दिन भित्र निर्णय लिनेछु । ठेक्का तोड्ने वा अन्य केही गर्ने भन्ने विषयमा प्रकृया अघि बढाउने छु ।”
उक्त सडक निर्माणका लागि भारतीय ठेकेदार कम्पनी एप्को इन्फ्राटेक प्रालिले ठेक्का लिएको थियो । १०१ किलोमिटर कालोपत्रे गर्नुपर्ने भएपनि निर्माण कम्पनीले वेवास्ता गरेपछि उक्त माग पेश गरिएको प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङले बताए ।