म्याग्दी। मुस्ताङ जोड्ने एक मात्र राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडक खण्ड अवरुद्ध भएको छ। विभिन्न स्थानमा पहिरो तथा खोलाको कटानले यातायात अवरुद्ध भएको हो।
बेनी–जोमसोम सडक खण्ड अन्तर्रगतको बेनी–गलेश्वर सडकको जलेश्वर, रघुगंगा गाउँपालिका–३ गलेश्वर २ बेगखोलामा सडक अबरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार अबिरल वर्षा पछि आएको बाढिले गर्दा गलेश्वर बेनीको जलेश्वरमा सडक बगेको छ। त्यस्तै बेगखोलामा गाडी खोलाबाटै तर्ने भएकोले खोलामा पानीको बहाब उच्च भएको कारणले गर्दा गाडी आवत जावत हुन सकेको छैन। त्यस्तै अन्नपुर्ण गउँपालिकाको नौनी बगरमा पनि पहिरोले गर्दा सडक अबरुद्ध भएको छ। वर्षा नरोकिएको कारणले गर्दा तत्कालन सडक खुलाउन पनि समस्या भएको प्रहरीको भनाई छ।
त्यसैगरी अन्नपुर्ण गाउँपालिका–३ दानाको रुप्से झरना, अन्नपुर्ण गाउँपालिका–२, भुरुङतातोपानीमा पनि सडक अबरुद्ध भएको छ। रुप्सेमा आएको बाढीले सडक कटान गरेपछि सवारी आवागमन बन्द भएको हो। त्यस्तै बेनी–दरवाङ हुँदै जलजला रुकुम जोड्ने सडक खण्ड अन्तरगत बेनी–दरवाङको बाङ्गे पहिरो र घुमाउने भिरमा सडक अबरुद्ध भएको छ।
बेनी–जोमसोम–कोरला कालिगण्डकी करिडोर सडक आयोजनाले सडक मर्मतका लागि प्रयास भएको भए पनि लगातारको वर्षाले गर्दा समस्या भएको बताएको छ। बेनी जोमसोम सडक खण्डको म्याग्दी क्षेत्रमा मात्रै धेरै ठाउँमा अबरुद्ध छ, वर्षा कम हुँदासाथ सडक खुल्छ। रुप्सेमा शनिबार देखि नै पटक पटक अबरुद्ध हुने र खुलाउने क्रम जारी छ।
त्यस्तै म्याग्दीलाई केन्द्रीय सडक सञ्जाल सँग जोड्ने बेनी–मालढुङगा सडक खण्ड पनि अबरुद्ध रहेको छ। बेनी–बागलुङ सडक भने अहिले कुनै अवरोध नभएको प्रहरीले जनाएको छ। लगातारको वर्षाले गर्दा प्रमुख नदिहरु म्याग्दी र कालीगण्डकीमा पानीको बहाब बढेको छ।