सल्यान। शारदा नगरपालिका–१ श्रीनगर बजारसँग १, २ र १३ नम्बर वडाको स्यानीखाल जोड्न शारदा नदीमा निर्माण सुरु पक्की पुलको काम ४ महिना नबित्दै रोकिएको छ। पिलर गाड्न ड्रिल गर्ने क्रममा कडा चट्टान भेटिएपछि पुल निर्माणको काम अलपत्र परेको हो।
सडक डिभिजन कार्यालय दाङका अनुसार ड्रिल मेसिनले समेत चट्टानमा प्वाल पार्न नसकेपछि पुल निर्माणको काम अलपत्र परेको छ। पुलको काम रोकिएपछि निर्माण कम्पनीले ल्याएको सामग्री त्यत्तिकै थन्किएका छन्। स्यानीखालसम्म बाह्रै महिना गाडी सञ्चालन गर्न पुल निर्माणको काम थालिएको थियो। पुल नहुँदा स्थानीय जोखिम मोलेर शारदा नदी वारपार गर्न बाध्य छन्। ठेकेदार कम्पनीले काम गर्दागर्दै छाडेपछि पक्की पुल समयमै बन्नेमा शंका लागेको स्यानीखालका रेशमबहादुर ओलीले बताए । उनका अनुसार वर्षायाममा शारदा नदी बढ्ने भएकाले श्रीनगरदेखि स्यानीखाल आउजाउ गर्दा जोखिम मोलेर नदी तर्नुपर्ने बाध्यता छ।
जमिनमुनि कडा चट्टान भेटिएको भन्दै ठेकेदार कम्पनी पन्छिन खोजेको र देखावटी काम गरेजस्तो देखिएको स्थानीय नन्दलाल बुढाथोकीले बताए । ‘पक्की पुल बनेमा वर्षाको समय र रातबिरातमा पनि आउजाउ गर्न सहज हुन्थ्यो,’ उनले भने, ‘ठेकेदार कम्पनीले गर्दागर्दैको काम छोड्यो, अब कहिले पुल बन्ने हो निश्चित छैन।’
सडक डिभिजन कार्यालय दाङका इन्जिनियर रिकेस महर्जनले पुल निर्माणस्थलमा करिब २० मिटर तल जमिनमुनि कडा चट्टान भेटिएको बताए । उनका अनुसार ठेकेदार कम्पनीले ल्याएको ड्रिल मेसिनले चट्टानमा प्वाल पार्न नसकेका कारण काम रोकिएको हो । पुलका लागि सरकारले १२ करोड रुपैयाँ विनियोजन गरेकोमा ९ करोडमा जलजला जयमा स्वर्गद्वारी निर्माण कम्पनीले काम गर्ने गरी सम्झौता गरेको छ । ६० मिटर लम्बाइको उक्त पुल निर्माणको अवधि अब १४ महिना बाँकी रहेको उनले जानकारी दिए ।
‘कडा चट्टान प्वाल पार्न ठूलो मेसिन ल्याएर काम गर्न ठेकेदार कम्पनीलाई सल्लाह दिएका छौं,’ उनले भने, ‘२ वर्षमा काम सक्ने गरी जिम्मा लिएको कम्पनीले ६ महिना गुजारिसकेको छ, कम्पनीलाई काम छिटो सक्न ताकेता गरिरहेका छौं ।’
पक्की पुल निर्माणका लागि डिभिजन कार्यालय दाङले १६ मिटर गहिराइसम्म परीक्षण गरेको थियो । स्टमेटअनुसार पिलरका लागि २७ मिटर गहिराइसम्म प्वाल पार्नुपर्ने हुन्छ । ‘तर सानो मेसिनले २० मिटरभन्दा तल प्वाल पार्न सकेन,’ इन्जिनियर महर्जनले भने, ‘हाम्रो मेसिनको ड्रिल गर्ने एउटा सिजल पनि जमिनमुनि अड्किएको छ ।’ कान्तिपुरबाट