काठमाडौं। त्रिशुली नदीमाथि निर्माणाधीन पुलहरूमध्यकै सबैभन्दा लामो पुलको काम अन्तिम चरणमा पुगेको छ। आगामी दशैंदेखि सञ्चालनमा ल्याउनेगरी पुलको अन्तिम चरणको निर्माण कार्य भइरहेको हो।
हालसम्म पुलको ९५ प्रतिशतभन्दा बढी काम पूरा भइसकेको छ। अब पुलको बार राख्ने काम धमाधम भइरहेको छ भने पुलको स्पान ढलानको काम थोरै मात्र बाँकी रहेको छ ।
२ सय मिटर लम्बाइको सो पक्की मोटरेवल पुल २०७४ सालदेखि निर्माणको काम सुरु भएको थियो । पुल नहुँदा पृथ्वी राजमार्गसम्म आवतजावत गर्नका लागि निकै समस्या भोग्दै आएका सिद्धलेक गाउँपालिकाका स्थानीय पुल निर्माणको काम अन्तिम पुगेसँगै निकै खुसी भएका छन् । पुल सञ्चालनमा आएपछि सो क्षेत्रका स्थानीयको आर्थिक अवस्था सुधारमा पनि निकै सहज हुने उनीहरूको भनाइ छ ।
पृथ्वी राजमार्गलाई सिद्धलेक गाउँपालिकासँग सिधै मोटर सञ्चालनका लागि गत पाँच वर्ष अघिदेखि निर्माणाधीन अवस्थामा रहेको सो पुलबाट आगामी दसैँदेखि मोटर सञ्चालनको तयारी भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ ।
जिल्लाभित्र पर्ने त्रिशूली नदी वारपार गर्नका लागी विभिन्न स्थानहरूमा सातवटा पक्की मोटरेवल पुल निर्माण भएको छ । ती पुलहरूमध्ये सबैभन्दा लामो गजुरी गाउँपालिकाको घाटवेसीलाई सिद्धलेक गाउँपालिकास्थित पिपलटार जोड्नका लागी पाँच वर्षदेखी निर्माण सुरु गरेको सो पुल दुई सय मिटर लम्बाइको छ ।