गलेश्वर। कालीगण्डकी करिडोरअन्तर्गतको बेनी–जोमसोम सडकखण्ड तीन दिनपछि बिहीबार साँझदेखि सञ्चालनमा आएको छ। मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने एक मात्र सडक काभ्रेभिरमा गएको सुक्खा पहिराका कारण गत सोमबारदेखि अवरुद्ध थियो।
अविरल वर्षाका कारण म्याग्दी र मुस्ताङको सिमाना काभ्रेभिरमा सुक्खा पहिरो गएको थियो। सोही स्थानको घोप्टे ओढारमा सडक भासिएपछि अवरुद्ध बनेको सडक मर्मत गरेर सञ्चालनमा ल्याइएको हो।
सडक सञ्चालन भएसँगै सवारीसाधन ओहोरदोहोर गर्न थालेका बेनी–जोमसोम सडकका सुपरभाइजर इन्द्रसिंह शेरचनले जानकारी दिए। पहिरोले काभ्रेभिरमा तीन मिटर सडक पुरिएको थियो भने सोही स्थान नजिकको घोप्टेभिरमा करिब ५० मिटर सडक भासिएको थियो।
मौसममा सामान्य सुधार आएपछि बुधबारदेखि सडक मर्मतको काम थालिएको छ। सडक स्तरोन्नतिमा परिचालन गरिएको निर्माण कन्स्ट्रक्सनका उपकरण र जनशक्ति परिचालन गरेर बेनी–जोमसोम सीधा यातायात सञ्चालनमा ल्याइएको सुपरभाइजर शेरचनले बताए। काभ्रेभिरमा सडक अवरुद्ध हुँदा पैदलयात्री पैरोथाप्लाको पदमार्ग हुँदै घुमाउरो बाटोबाट यात्रा गर्न बाध्य थिए।
बेनी–जोमसोम ७६ किमी सडकको म्याग्दी खण्ड बर्खाको समयमा बाढीपहिराको उच्च जोखिम छ। म्याग्दी–काभेभिर सडकको सिमानाको बाँदरजुँगे भिर आसपासमा छिनछिनमा खस्ने पहिराले यात्रु जोखिममा पर्ने गरेका छन्। भारत र चीनलाई जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत विस्फोटक पदार्थको प्रयोगका कारण पहिरोको जोखिम छ।