काठमाडौं। कोरोना भाइरसको संक्रमण कम भएसँगै नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढेको छ। सन् २०२२ को (जनवारी–जुलाई) सात महिनामा २ लाख ८५ हजार ३६३ विदेशी नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको छ।
कोरोना महामारीपछि पर्यटन क्षेत्रमा सुधारको संकेत देखिएको नेपाल पर्यटन बोर्डले जनाएको छ। सन् २०२२ को जुलाईमा मा नेपाल भ्रमण गर्न आउने विदेशीको संख्या ४४ हजार ४६२ पुगेको छ। कोभिडभन्दा अघि सन् २०१९ को जुलाईमा ५८ हजार ८११ पर्यटक नेपाल भित्रिएका थिए।
नेपालमा पर्यटक आगमन औसतमा दैनिक साढे १३ सय पुगेको छ। कोभिड–१९ महामारीका कारण लगातार दुई वर्ष (सन् २०२०।२०२१) झन्डै शून्यमा झरेको पर्यटक आगमन सन् २०२२ को शुरुवातदेखि नै सुधारको संकेत देखिएको छ।
हालसम्म नेपाल भ्रमणमा आएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय पर्यटक रहेको बोर्डको तथ्यांकले देखाएको छ। सात महिनामा नेपाल भ्रमणमा आएका पर्यटकमध्ये ३८.९ प्रतिशत छन्। त्यसैगरी छिमेकी मुलुक जुलाईमा चीनबाट १ हजार ५९३ पर्यटक नेपाल भ्रमणमा आएका थिए। कुल पर्यटकको ३.६ प्रतिशत चिनियाँ रहेको तथ्यांकले देखाएको छ।
यस्तै जुलाईमा दक्षिण एसिया (सार्क) मुलुकबाट १९ हजार ९८० जना पर्यटक नेपाल भित्रिएका छन्। तीमध्ये बंगलादेशबाट १ हजार ८७४ जना पर्यटक रहेका छन्। यस्तै अन्य एसियाली मुलुकबाट ४ हजार १९५ जना पर्यटक नेपाल भ्रमणका लागि आएका थिए।
त्यसैगरी युरोपबाट ९ हजार १२१ जना, मध्यपूर्व लगायत मुलुकबाट ३ हजार ७३५ र अमेरिकाबाट ५ हजार २२८ पर्यटक नेपाल भित्रिएको पर्यटन बोर्डले जनाएको छ। कोरोनाको संक्रमण कम भएसँगै पर्यटकको संख्या बढे तर पूर्ण रूपमा सुधार नआएको बोर्डले जनाएको छ।