परासी। नवलपरासीको रामग्राम नगरपालिका क्षेत्रमा सडक विस्तार र पुल निर्माणका लागि १५ करोड विनियोजन गरिएको छ। विनियोजित रकममध्ये १० करोड रुपैयाँ सडक विस्तार र ५ करोड रुपैयाँ पुल निर्माणका लागि विनियोजित भएको हो।
सदरमुकाम परासी क्षेत्रमा पर्ने सडक साँघुरो भएका कारण आवतजावत र दुर्घटनासमेत बढेको भन्दै सडक डिभिजन कार्यालय बुटवलसँग अनुरोध गरेपछि १० करोड रुपैयाँ विनियोजन भएको रामग्राम नगरपालिकाकाले जनाएको छ। यो रकमबाट भूमहीदेखि परासीहुँदै भैरहवा जोड्ने सडकअन्र्तगतको बजार क्षेत्रको सडक विस्तार हुने छ। यो सडक सुनौलीदेखि पूर्व जाने छोटो दुरीको बन्दरगाह मार्गको रुपमा रहेको छ। सडक विस्तारका लागि टेण्डर प्रकृयासमेत अघि बढेको छ। यो सडकसँग अन्य बजार क्षेत्रका सडक विस्तारका लागि पहल गरिने बताइएको छ।
अहिले सडकको चौडाई ३६ फिटको छ। त्यसलाई बढाएर १ सय फिटको निर्माण गर्न लागिएको नगरपालिकाले जनाएको छ। सडकका दुवैतर्फ नाला र फुटपाथसमेत निर्माण हुने सडक बालगोबिन्द पेट्रोल पम्पदेखि नदवासम्मको १२ सय मिटरसम्म विस्तार हुने छ। सोही सडकमा पर्ने रावन खोलामाथिको पुल निर्माणका लागि पनि सडक डिभिजनबाट ५ करोड रुपैयाँ बजेट विनियोजन भएको छ। पुल निर्माणका लागि प्रकृया अघि बढेकाले केही दिनमा काम सुरु हुने भएको छ।
त्यस्तै रामग्राम नगरपालिका–१६ स्थित हकुईदेखि बकेनवासम्मको सडक र नाला निर्माणका लागि ५ करोड रुपैयाँ रकम माग गरिएको नगरपालिकाले जनाएको छ। नाला र सडक व्यवस्थित नहुँदा त्यस क्षेत्र डुबानमा पर्दै आएपछि नगरपालिकाले उक्त रकम माग गरेको हो।