पोखरा। मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा वडा नम्बर २५ मा पर्ने सडकखण्डमा दैनिकजसो दुर्घटना हुने गरेको छ। उक्त सडकखण्डमा आइतबार साँझ भएको दुर्घटनामा एक जनाको मृत्यु भएको थियो भने गत आर्थि वर्षमा मात्रै ९ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जनाएको छ।
स्थानीयका अनुसार उक्त सडकखण्डमा दैनिकजसो ५र६ वटा सानाठूला दुर्घटना भइरहेका छन्। सिधा र फराकिलो बाटोमा चालकले तीव्र गतिमा सवारी कुदाउने गर्दछन्।
ट्राफिक प्रहरी प्रमुख प्रकाश शाहका अनुसार मध्यपहाडी लोकमार्ग अन्तर्गत हेमजा सडकखण्डमा सबैभन्दा बढी तीव्र गतिमा सवारी चलाउँदा दुर्घटना हुने गरेको छ। दुर्घटना पर्नेमा सबैभन्दा बढी युवा अवस्थाका रहेको प्रमुख शाहले जानकारी दिए। दैनिकजसो दुर्घटना हुन थालेपछि अहिले ट्राफिक कार्यालयले नियमित सचेतना कार्यक्रम चलाउन थालेको छ।
ट्राफिक कार्यालयले शुक्रबारमात्रै हेमजा सडकखण्डमा पुगेर सवारीको गति मापन यन्त्र (राडार) प्रयोग गरी स्पिड मापन गरेको थियो। कानुनतः बजार क्षेत्रमा ४० किलोमिटर प्रति घन्टा तोकेको छ। तर, अन्यत्रभन्दा फराकिलो र सिधा रहेको उक्त सडकखण्डमा भने न्यूनतम ८० देखि १२० किलोमिटर प्रति घन्टाको उच्च गतिमा कुदाइरहेको पाइएको कार्यालयले जनाएको छ।