स्याङ्जा। अर्जुन चौपारी –१ को केवरे र आँधीखोला गाउँपालिका –५ सेतीदोभानमा मोटरेबल पुल निर्माण भएको छ। आठ वर्षमा सो पुल निर्माण भएको हो।
पुल निर्माण ठेक्का सम्झौता भएको छ महिनामै दुवैतर्फको खोला किनारमा पुलको फाउन्डेसन बनाइएको थियो। कान्छाराम आशिष जेभीले २०७१ असोज २६ गते सडक डिभिजन कार्यालय पोखरासँग दुई वर्षमा काम सक्ने गरी पुल निर्माणको सम्झौता गरेको थियो। निर्माण कार्य आठ वर्षपछि सम्पन्न भएको छ।
करिब ४० मिटर लम्बाइ र सात मिटर चौडाइको एक स्पानको उक्त पुल तीन करोड २७ लाखको लागतमा निर्माण सम्झौता गरिएको थियो। निर्माण कार्य सुरु हुँदै पटक–पटक रोकिँदा ढिलो भएको हो।
पछिल्लो समयमा स्थानीयको दबाबपश्चात् चार महिनामा सकिएको पुल निर्माण व्यवसायीको लापरबाहीले वर्षौंसम्म निर्माण हुन सकेको थिएन। पहिलो पटक फाउन्डेसनपछि रोकिएको कामको पुनःमूल्याङ्कनपश्चात् निर्माण कम्पनीले सुरु गरेको थियो। दोस्रो पटक रडको गुणस्तरियतामा प्रश्न उठेपछि काम रोकिएको हो। पुलको मुख्य बिम ढलान गर्ने तयारीका बेला रड सानो भएपछि निर्माणको काम रोकिएको थियो। पर्यटकीय गाउँ शिरुबारीलगायत विभिन्न ठाउँमा जान पुल नबन्दा समस्या भएको थियो।
अब पुल बनेसँगै लामो समयदेखिको पुल तरेर सवारीसाधन चढ्ने चाहना पूरा भएको गाउँपालिकाले जनाएको छ। सिद्धार्थ राजमार्ग अर्जुन चौपारी हुँदै पर्वत बागलुङ जोड्ने केवरेखोला पुल जन विश्वरविवेक एण्ड कुबेरले सम्झौताको समयमै बनाएको हो।