काठमाण्डौ। ललितपुर महानगरपालिका–२१ खोकनामा अवस्थित रुद्रायणी देवी मन्दिर पुनःनिर्माणका लागि जग खन्ने काम सम्पन्न भएर ढुङ्गा भर्ने काम अघि बढेको छ।
मन्दिर पुनःनिर्माणका लागि कूल आठ फिट जग खनेर त्यसमध्ये पाँच फिटमा ढुङ्गा भर्ने काम अघि बढिरहेको रुद्रायणी मन्दिर पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष बेखनर महर्जनले बताए।
मन्दिर पुनःनिर्माणमा महानगरपालिका र पुरातत्व विभागले सहयोग गर्ने भनिएको रकममा केही रकम लिएर काम अघि बढाइएको महर्जनले जानकारी गराए। उक्त मन्दिर विसं २०७२ को भूकम्पले पूर्णरुपमा क्षतिग्रस्त भएको थियो। मन्दिर पूर्णरुपमा जीर्ण भएसँगै पुनःनिर्माणका लागि यही जेठमा जनश्रमदानबाट १८औ दिनमा भत्काउने काम सम्पन्न गरिएको कोषाध्यक्ष इश्वर डङ्गोलले बताए।
उनले भने, मन्दिर बनाउन लपु महानगरपालिकाले एक करोड २५ लाखका साथै विभागले एक करोड सहयोग गर्ने वचनबद्धता गरेका छन्। उक्त मन्दिर पुनःनिर्माणका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले शिलान्यास गरेका थिए।
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी राधिका शाक्यका साथै पूर्वशहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले २०७७ साल मङ्सिर १५ गते सो मन्दिरको अवलोकन गरी छिट्टै पुनःनिर्माणको काम अघि बढाइने आश्वासन दिएका थिए। मन्दिरलाई पुरानै शैलीमा गुणस्तरीयताका साथ निर्माण गर्न आफूहरुले पटकपटक अनुरोध गरिरहेको महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले बताए। रुद्रायणी मन्दिर रहेको सो ठाउँ तोरीको तेलका लागि अति प्रख्यात मानिन्छ।