ललितपुर। ललितपुरको नख्खु– भैंसेपाटी सडक आजदेखि कालोपत्रे गर्ने सहमती भएको छ। स्थानीय, ठेकेदार र जिल्ला प्रशासन कार्यालय ललितपुरका प्रतिनिधि बसेर सोमबार बिहान ८ बजेदेखि सडक कालोपत्रेको काम शुरु गर्ने सहमती भएको हो।
सहमतिबमोजिम निर्माण कम्पनीले काम सुचारु नगरे कालो मोसो दल्ने स्थानीयले चेतावनी दिएका छन्।
निर्माण कम्पनीले सडक निर्माणमा ढिलाइ गरेको भन्दै त्यस क्षेत्रका बासिन्दा पछिल्लोपटक ७ दिनदेखि आन्दोलनमा छन् । उनीहरूले आवागमन नै अवरुद्ध बनाएका छन् । आवागमन नै बन्द गरेर स्थानीयबासीले आन्दोलन थालेपछि स्थानीय प्रशासनको रहोबरमा आइतवार त्रिपक्षीय वार्ता भएको थियो ।
वार्तामा निर्माण कम्पनीले सोमबारदेखि काम शुरू गरी दशैंको घटस्थापनासम्ममा सडक कालोपत्रे गरिसक्ने बताएको छ। आफूहरु आज ८ बजेसम्मको पर्खाइमा रहेको भन्दै एक स्थानीयले सहमतिअनुसार निर्माण कम्पनीले सोमवार बिहानबाट सडक कालोपत्रे गर्न शुरू नगरे कडा संघर्षमा उत्रने चेतावनी दिए ।
उनीहरुले आजसम्म एम्बुलेन्स, बिरामी, अफिस ओहोर–दोहोर गर्ने सवारीलाई छुट दिएको भएपनि आजदेखि काम नथालिए कसैलाई पनि उक्त सडकबाट आवतजावत गर्न नदिने बताएका छन्।
काठमाडौं उपत्यकाको नख्खु– भैंसेपाटी सडक विगत ७ वर्षदेखि अस्त–व्यस्त छ । उक्त सडक खण्डमा जताततै खाल्डाखुल्डीका साथै हिउँदमा धुलो र वर्षामा हिलोले गर्दा आफूहरू हैरान बनेको स्थानीयको गुनासो छ ।