परासी। पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सम्झौता अवधि सकिँदा १८ प्रतिशत मात्र काम पूरा भएको छ। सडक विस्तारको समयावधि आइतबा (हिँजो) सकिँदा पूर्वी खण्डमा १८ प्रतिशत र पश्चिम खण्डमा २० प्रतिशतमात्र काम सम्पन्न भएको हो।
१ सय १४ किलोमिटर सडक विस्तार सुरु भएको ३ वर्ष ४ महिनामा काम अलपत्र छोडिँदा सडक पानी पर्दा कतै हिलाम्य हुन्छ भने कतै सडकमै भल बग्छ । वर्षायाम लागेयता केही स्थानमा सडक बगिसकेको छ । घाम लागेका दिन धूलोले अगाडिको सवारी नदेख्ने अवस्था छ । दिनहुँ सानाठूला दुर्घटना भइरहेका छन् ।
०७५ चैत ८ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलमा सडक विस्तारको शिलान्यास गरेका थिए । यो सडक खण्ड विस्तारका लागि चाइना स्टेट कर्पोरेसन कम्पनीले जिम्मा पाएको छ । विस्तारको काम छिटो गर्न संसदीय समितिको निर्देशनदेखि स्थानीय तवरबाट चर्को दबाब आउँदासमेत कोरोना कहर, निर्माण सामग्री अभावजस्ता बहाना बनाएर निर्माण कम्पनीले आलटाल गरिरहेको छ।
पश्चिम नवलपरासीस्थित सुनवल–१२ भुमहीका स्थानीयले केही दिनअघि सडक जाम गरेर धूलोरहित बनाउन माग गरेपछि ठेकेदार कम्पनीले पानी हाल्न सुरु गरेको छ । आन्दोलन भएको केही स्थानमा कालोपत्र समेत गरेको छ तर सम्झौताअनुसार धूलोरहित निर्माण कार्य अगाडि बढाउने सहमति निर्माण व्यवसायीले कार्यान्वयन गरेको छैन । व्यवसायीलाई ताकेता गर्न र कामको गति बढाउन सम्बन्धित निकायले ध्यान नदिएको स्थानीयको आरोप छ।
खाडल, धूलो, हिलो र प्रदूषणले वाक्क भएका स्थानीयले जनप्रतिनिधिसँग गुनासो राख्दछन् तर जनप्रतिनिधिका अगाडि धूलोरहित बनाउने र निर्माणलाई तीव्रता दिने बचन दिने चिनियाँ ठेकेदार कम्पनीका प्रतिनिधि त्यसपछि सम्पर्कमा नै नआउने गरेको स्थानीयको भनाइ छ । अहिले बुटवल–नारायणगढ खण्डमा गाडी चलाउन कठिन छ । खाल्डाखुल्डी, धूलो र डाइभर्सनका कारण साना सवारी चालकले त सास्ती खेपिरहेका छन् । सडक विस्तार हुने खुसीमा रहेका आसपासका स्थानीय अहिले आजित भएका छन् । स्थानीयले आन्दोलन गरेमा केही समय पानी हाल्ने र सामान्य मर्मत गरेजस्तो गर्ने र अन्य स्थानमा सामान्य खाडलसमेत नपुर्ने परिपाटीको कारण चालक र यात्रु हैरान छन् ।
निर्माण कम्पनीको सम्झौता अवधि आइतबार सकिएको छ। निर्माण कम्पनीलाई जरिवाना गरेर म्याद थप गर्ने वा सचेत बनाएर म्याद थप गर्ने भन्ने विषयमा सरकार अझै अन्योलमा नै छ ।