दाेलखा। कालिञ्चोक गाउँपालिका–५ लापिलाङमा घट्टे खोलाको दायाँबायाँ कटान गर्दै पहिरोले ठूलो रुप लिन थालेपछि सिंगो गाउँनै जोखिमपूर्ण बनेको छ। तीन दिनदेखि गाउँको माथिबाट झरेको पहिरोका कारण खोलामा बाढी आउँदा विद्यार्थी र स्थानीयलाई खोला तर्न समेत समस्या छ।
लापिलाङ मावि र देउराली प्राविका विद्यार्थी घट्टे खोला वारपार गरेर विद्यालय जाने र फर्कनु पर्छ। तर सामान्य समयमा समेत खोला बढेर तर्न गाह्रो हुने विद्यार्थीलाई विद्यालय छुटेपछि पानी परेर खोला बढेपछि शिक्षक र अभिभावक दुवै पक्षलाई चिन्ता बढ्ने गर्छ। पानी पर्दा विद्यार्थीलाई समाएर खोला तार्ने शिक्षक र विद्यार्थीको नियमीत काम जस्तै बनेको छ।
पहिरो उद्धारका लागि पूर्व तयारी स्वरुप राखिएको गाउँपालिकाको स्काभेटरले खोला ठूलो हुँदा विद्यार्थी र स्थानीयलाई खोला वारपार गराउने गरेको छ। कालिञ्चोक गाउँपालिका–५ का अध्यक्ष सहदेव खड्काले विद्यार्थीलाई कहिले स्काभेटरकाे बकेटमा राखेर खोला तार्ने गरेको त कहिले शिक्षक र अभिभावक भएर समाएर र बोकेर विद्यार्थीलाई खोला तार्ने गरेको बताए।
पहिरोले जग्गाजमिन र घर बगाएपछि एउटा नेवार बस्ती पुरै विस्थापित नै भएको छ। काँडाबारी गाउँका ९ वटा घर पहिरोले छोपेपछि दुई वर्ष अघि अन्यत्र सारियो। मुख्य बजार क्षेत्रका ७ वटा घर पनि पहिरोले तानेको छ। लाविलाङ पहिरोले कटान गर्दै लगेपछि ८ वटा घरपरिवारलाई अन्त सार्नुपर्ने भएकोले गाउँपालिकाले घर खालि गर्न समेत आग्रह गरेको छ। अहिलेलाई सार्नुपर्ने परिवारलाई गाउँमै भएका खालि घर व्यवस्थित गरिएको र त्यस्तो घरको भाडा गाउँपालिकाले नै तिर्ने भएको छ।
सुनखानी सडक लापिलाङ खण्ड बन्द भइसकेको छ। रानीबनबाट झरेको पहिरो सिस्नेबारी, मैदान, काँडाबारी, बन्देथैली हुँदै शिलाथारेसम्मका बस्तीहरुमा पुगिसकेको छ। पहिरोले रानीबनदेखि पुमुखोलासम्मको भुभाग दिनहुँ कटान गरिरहेको छ। स्थानीय सरकारबाट मात्र यस्ता समस्या समाधान हुन नसक्ने भएकाले केन्द्रबाट पहल हुनुपर्ने देखिन्छ।