काठमाडौं। रामेछापमा अस्पताल निर्माणको काम अलपत्र छाडेर निर्माण कम्पनी गाल्वा लावा–शुभमेन्द्रो जेभी भागेपछि ७८ श्रमिक अलपत्र परेका छन्। वैशाखदेखि नै काम बन्द गरेको कम्पनीले असार १२ गते रकम भुक्तानी लियो तर उसले श्रमिकलाई एक वर्षयता ज्याला दिएको छैन।
२०७८ जेठमा ९ करोड ३२ लाखको ठेक्का पाएको कम्पनीले २० प्रतिशत भौतिक प्रगति गरेको छ । उसले भुक्तानी भने ३० प्रतिशत अर्थात २ करोड ९० लाख रुपैयाँ लिइसकेको छ। श्रमिकले ज्यालाका लागि खोलेपनि निर्माण व्यवसायी सम्पर्कमै छैन।
निर्माण व्यवसायीले मजदुरलाई ज्याला नदिएको समस्या देशै भर छ। अहिले देशभर १७ हजारभन्दा बढी निर्माण कम्पनी छन्। क, ख र ग वर्गका निर्माण कम्पनी १६ सय ६१ वटा हुन् बाँकी घ वर्गका कम्पनी हुन्। निर्माण कम्पनी अहिले १५ हजार भन्दा बढी आयोजनामा काम गरिरहेका छन्। खासगरी घ वर्गका निर्माण कम्पनी काम सकेपछि सरकारी निकायबाट भुक्तानी लिएर श्रमिकलाई ज्याला नदिइ भाग्ने गरेका छन्।
यस सम्बन्धमा श्रम मन्त्रालय मातहतको श्रम तथा व्यवसाय जन्य सुरक्षा विभागमा उजुरीका चाङ छन्। ठेकेदारले पेटी ठेकेदारमार्फत काम गराउँदा यस्तो समस्या आउने गरेको विभागको बुझाइ छ।
श्रमिकले ज्याला नपाएको सुनिश्चित नभएसम्म ठेक्का रकम भुक्तानी नगर्ने निर्णयका लागि विभागले मन्त्रालयलाई सुझाव दिएको छ। विभागको सुझावमा श्रम मन्त्रालयले अरु मन्त्रालयलाई पत्रको तयारी गरेको छ। श्रम एन २०७४ अनुसार चिया बगान बाहेकका क्षेत्रमा काम गर्ने श्रमिकलाई आधारभुत पारिश्रमिक र महंगी भत्ता वापत मासिक न्यूनतम १५ हजार रुपैयाँ दिनुपर्छ।
यति रुपैयाँ दिनुपर्ने सम्झौता बिना काममा लगाउन पाइँदैन। तर धेरै जसो निर्माण कम्पनीले सम्झौता बिना नै काममा लगाउने गरेका छन्। श्रमिकले ज्याला नपाउने समस्या समाधानका लागि मन्त्रालयले पठाउने पत्रचारलाई अरु मन्त्रालयले कुन रुपमा लिन्छन् त्यो पत्राचारपछि निश्चित हुने छ।