काठमाडौं। पर्यटकीय स्थल लाप्चा क्षेत्र जाने गेउ खोलामा गाडी गुड्ने काठे पुल निर्माण भएको छ। यसअघि सडक निर्माण भएपनि यातायात सञ्चालनमा समस्या हुँदै आएको थियो। काठेपुल बनेपछि यातायात सञ्चालनमा सहज भएको छ।
नाम्खा गाउँपालिका–६ मा पर्ने मानसरोवर कैलाशको दर्शन गर्ने स्थान लाप्चा क्षेत्र जाने गेउ खोलामा काठे पुल निर्माण भएको वडा अध्यक्ष पाल्जोर तामाङले बताए। उनले पुन निर्माण नहुँदा बर्खामा पानी मै गाडीहरुले खोला तर्नु पर्ने बाध्यता रहँदै आएकोमा अब भने त्यो समस्या हटेको बताए।
यसअघि पैदल यात्रुले पनि खोला तर्नु पर्ने बाध्यता रहेको थियो। लिमीका स्थानीयको मागलाई मध्यनजर यातायात सञ्चालन गर्न काठे पुल भएपनि निर्माण भएको हो। खोलाको दायाँ बायाँ पन्द्र मिटर ढुङ्गाको गारो लगाईएको छ भने छ मिटर काठ राखेर पुल निर्माण गरि गाडी सञ्चालन हुन थालेका छन्।
यसबाट लाप्चा पुगेर मानसरोवर कैलाशको दर्शन गर्ने पर्यटकहरुलाई यात्रा गर्न पनि ढुक्क भएको छ। उनले काठेपुल निर्माणले दिर्घकालीन समस्या समाधान नभएपनि अस्थायी रुपमा यातायात सुचार गर्न सहज भएको बताए। यसबाट पर्यटक प्रबद्र्धनमा सहयोग पुग्ने बिस्वास गरिएको हो। सो पुलबाट साना बोलेरो जीप देखि टिप्पर समेत तर्न सक्ने भएको छ। गोरखापत्रबाट