सर्लाही। नेपाल विद्युत प्राधिकरणले सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा १३२/३३ केभीको सबस्टेसन निर्माण गरेको छ। सर्लाहीको विद्युत आपूर्तिलाई भरपर्दो तथा गुणस्तरीय बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगहरुलाई विद्युत उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन शनिबार चार्ज गरि सञ्चालनमा ल्याइएको छ।
सो सबस्टेसन सञ्चालनमा आएसँगै सर्लाहीको विद्युत आपूर्ति विश्वसनीय हुने र प्राविधिक चुहावट घट्ने कुरा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकले बताएका छन्। सर्लाहीमा हाल ढल्केबर र चन्द्रनिगाहपुर सबस्टेसनबाट ३३ केभी लाइनमार्फत विद्युत आपूर्ति भइरहेको थियो, ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट थियो भने विद्युत आपूर्तिमा समेत अवरोध हुँदै आएको थियो।
पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइन नवलपुर सबस्टेसनमा भित्रने लुप इन र बाहिरिने लुप आउट रहेको छ। यस १३२ केभी लाइनबाट नवलपुर सबस्टेसनमा विद्युत आपूर्ति दिइने छ। उक्त सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिए र ३३/११ केभी, १६ एमभिए क्षमताका दुईवटा ट्रान्सफर्मर राखिएको छ। सोही सबस्टेसनमार्फत सर्लाहीका हरिपुर र मलंगवा ३३/११ केभी वितरण सबस्टेसनहरुमा विद्युत आपूर्ति दिइने छ।
उक्त सबस्टेसनको प्रारम्भिक काम आर्थिक वर्ष २०७४/७५ र मुख्य निर्माण आव २०७५/७६मा सुरु गरिएको थियो। कोभिड–१९को महामारीको कारण उपकरणहरु ल्याउन नसक्दा निर्माणमा केही ढिला भएको सबस्टेसन आयोजनाका प्रमुखले बताएका छन्।