काठमाडौं। अर्घाखाँची र पाल्पा जिल्ला जोड्ने घुम्ती–पाल्पा सडक आयोजना २७ वर्षसम्म अलपत्र परेको छ। २०६३ सालमा २५ लाख रुपैयाँ विनियोजन भएर एक किलोमिटर कालोपत्रे भएको सडकको गति १५ वर्षपछि पनि उस्तै छ। २०६५ सालदेखि २०७४ सालसम्म उक्त सडकमा बजेट विनियोजन हुन सकेन। एसएनआरटीपी प्रोजेक्टले उक्त सडकको जिम्मा लिँदा काम अगाडि बढेन। २०७४ सालको निर्वाचनमा सडकलाई पिच गर्ने चुनावी नारा बने पनि सडकको काम कछुवा शैलीमा छ।
२०४८ सालमा तत्कालीन जिल्ला विकास समितिका सभापति खगेन्द्र पोख्रेल हुँदा चार वर्ष लगाएर २०५२ सालमा ट्रयाक खोल्ने काम सम्पन्न भएको बाटो घुम्तीबाट तीनगिरेसम्म ३४ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ। पाल्पाको तीनगिरेबाट तानसेनसम्म भने सडक कालोपत्रे भइसकेको छ।
गतआर्थिक वर्षमा अड्गुरीबाट दुर्गाफाँटसम्म कालोपत्रे गर्ने गरी ठेक्का सम्झौता भए पनि एक वर्षका लागि ठेकेदार कम्पनीले म्याद थप गरेको हो। कोदालोले २०४५ सालमा घुम्तीबाट खन्न थालेको बाटो २०७८ सालसम्म आउँदा पनि जोखिम यात्रा गर्न यहाँका बासिन्दा बाध्य छन्। यस क्षेत्रमा २०५६ सालमा डिल्लीराज खनाल, २०६४ सालमा पुष्पा भुसाल, २०७० सालमा स्व। डा। दुमनसिंह थापा र २०७४ सालमा प्रदेश सभामा रामजीप्रसाद घिमिरे र प्रतिनिधिसभा सदस्यमा टोपबहादुर रायमाझी विजयी भए।
बुटबल–सन्धिखर्क सडकपछि अर्घाखाँचीकै दोस्रो सडकको रूपमा रहेको घुम्ती–पाल्पा सडक आयोजनाको काम पछाडि पर्दा स्थानीय बासिन्दा पनि असन्तुष्ट छन्। १५ वर्ष अगाडि कालोपत्रे भएको बाटो जीर्ण बनेको छ। राजनीतिक दलका नेताले मुख्य चुनावी एजेण्डा बनाएपछि चुनाव सकिएपछि यो बाटोलाई वास्ता नै नगरेको स्थानीय तुल्सीराम पौडेलले बताए। अर्घाखाँचीको क्षेत्र नं। १ बाट निर्वाचित टोपबहादुर रायमाझी मन्त्री हुँदासमेत उक्त बाटोलाई प्राथमिकता दिएनन्।
गतआवमा २६ करोड रुपैयाँ ठेक्का भए पनि १४ किलोमिटर कालोपत्रे हुने भनिएको सडकको एक वर्षका लागि म्याद थपेर कामले तीव्रता लिन सकेको छैन। दुई वर्षभित्रमा बाटो पिच हुने विश्वास रहेको पाणिनी–७ का वडाध्यक्ष गुणाखर अधिकारीले बताए। चालू आर्थिक वर्षमा लुम्बिनी प्रदेश सरकारले पाणिनी गाउँपालिका पहुँचमार्गको रूपमा घुम्ती तीनगिरे सडक आयोजनाका लागि चार करोड विनियोजन गरेको छ।कारोबारबाट