दाङ। नेपाल विद्युत् प्राधिकरण तुलसीपुर वितरण केन्द्रले समय मै विद्युत महशुल नबुझाउने सेवाग्राहीको कात्तिक १ गतेदेखि लाइन काट्न शुरु गरेको छ। लामो समयदेखि विद्युत् महसुल नबुझाएका ७० घरको लाइन काटिएको प्राधिकरणको तुलसीपुर वितरण केन्द्रले जानकारी गराएको छ।
मिटर रिडिङ भएको ६० दिनभन्दा बढी समयसम्म पनि सेवाग्राहीले महशुल तिर्न नआएमा उनीहरूलाई कालो सूचीमा राखेर लाइन काट्न थालिएको तुलसीपुर वितरण केन्द्र प्रमुखको भनाइ रहेको छ। विभिन्न व्यक्ति संघ, सरकारी कार्यालय, कम्पनीलगायतबाट पाँच करोड ६७ लाख रुपैयाँ बक्यौता रकम असुल गर्न बाँकी रहेको केन्द्र प्रमुखले जानकारी दिएका हुन्। चालु आर्थिक वर्षको अन्त्यसम्म तीन करोड रुपैयाँ असुल गर्ने प्राधिकरणको लक्ष्य रहेको छ।
प्राधिकरणले धमाधम विद्युत लाइन काट्न सुरु गरेपछि बक्यौता महशुल संकलन हुन थालेको केन्द्र प्रमुखको भनाइ रहेको छ। गत आर्थिक वर्ष २०७७/७८ मा प्रधिकरणले ६३ लाख ८८ हजार रुपैयाँ बक्यौता तिर्न बाँकी रहेका २८५ ग्राहकको लाइन काटेको थियो। बाँकी रहेको बक्यौता बुझाए पछि सेवाग्राहीको घरमा पुनःविद्युत् जडान गरिने प्राधिकरणले जानकारी गराएको छ।