तनहुँ। पूर्वाधार विकास कार्यालय तनहुँमार्फत आर्थिक वर्ष २०७८/७९ मा जिल्लामा चार पक्की पुल निर्माण सम्पन्न भएका छन्। जिल्लाका विभिन्न ठाउँमा करीब रू. १६ करोड बराबरका ती पक्की पुल निर्माण सम्पन्न भएका हुन्।
विभिन्न मितिमा निर्माण शुरू भएका उक्त पुल आर्थिक वर्ष २०७८।७९ मा निर्माण सम्पन्न भएको कार्यालयले जनाएको छ। कार्यालयले रिस्तीखोला मोटरेबल पुल सोतीबेँसी, बुडुवाखोला मोटरेबल पुल, फेदीखोला मोटरेबल पुल र रिस्तीखोला मोटरेबल पुल बगुवा निर्माण सम्पन्न गरेको कार्यालय बताएको छ।
फेदीखोला मोटरेबल पुल रू. चार करोड २८ लाख ३२ हजार, बुडुवा खोला पुल रू. दुई करोड नौ लाख, रिस्ती बगुवाखोला पुल रू. चार करोड २५ लाख र रिस्ती सोतीबेसीको पुल रू. चार करोड ७१ लाख ३६ हजारको लागतमा सम्पन्न भएको हो। फेदी खोलामा २५ मिटर, बुडुवा खोलामा १९ दशमलव आठ मिटर, रिस्ती बगुवा ५२ मिटर र सोतीबेसीमा ४१ मिटर लामो स्पान टाइपको मोटरेबल पुल निर्माण भएको हो।
उक्त आर्थिक वर्षमा सातओटा पुल सम्पन्न गर्ने लक्ष्य राखिए पनि जेठ र असारमा वर्षाका कारण काम गर्न कठिनाइ भएपछि तीनओटा पुल निर्माण सम्पन्न हुन नसकेको बताइएको छ।
करिब रू. ११ करोडको लागतमा निर्माण सम्पन्न हुने तीन पुलहरू अन्तिम चरणमा पुगेका छन्। ज्वालाखोला मोटरेबल पुल रू. तीन करोड २१ लाख, द्रोपद खोला मोटरेबल पुल रू. तीन करोड ८३ लाख र बरखोला पुल रू. तीन करोड ३६ लाखको लागतमा निर्माण भइरहेको कार्यालयले बताएको छ।
कार्यालयले गत आवमा ६४ प्रतिशत वित्तीय प्रगति हासिल गरेको छ। उक्त वर्ष रू. एक अर्ब ३१ करोड सात हजार ४० विनियोजन भएकामा रू. ८४ करोड ७६ लाख १४ हजार खर्च भएको बताइएको छ। पूँजीगततर्फ कूल रू. एक अर्ब २८ करोड ६२ लाख ८२ हजार विनियोजन भएकामा रू. ८३ करोड ३४ लाख पाँच हजार खर्च भएको कार्यालयले बताएको छ। चालुतर्फ विनियोजित रू दुई करोड ४४ लाख ५८ हजारमध्ये रू एक करोड ४२ लाख नौ हजार खर्च भएको छ।