गोरखा। धादिङ, गोरखा हुँदै चितवनसम्म वैकल्पिक राजमार्ग निर्माणका लागि पूर्व तयारी थालिएको छ। पृथ्वी राजमार्गलाई बाइपास गरी धादिङ, गोरखा हुँदै चितवनसम्म वैकल्पिक राजमार्ग निर्माण गर्न राष्ट्रिय योजना आयोगले जनप्रतिनिधिहरुसँग छलफल गरेको छ।
राजमार्गले समेट्ने गण्डकी र बागमतीका मुख्यमन्त्री सहित सम्बन्धीत पालिकाका जनप्रतिनिधिहरुसँग छलफल गरी वैकल्पिक राजमार्ग बारे जानकारी गराइएको आयोगले जनाएको छ। त्रिशुली करिडोरको उत्तरी भागमा पर्ने सम्भावित पूर्वाधार विकास अन्तर्गत सडक विस्तार र नयाँ ट्रयाक निर्माण लगायतबारे छलफल भएको छ।
पृथ्वी राजमार्गमा पर्ने सिस्नेखोला आसपासबाट बाइपास गरी त्रिशुली नदीको उत्तरी क्षेत्र हुँदै देवघाटसम्म राजमार्ग विस्तारको योजना रहेको राष्ट्रिय योजना आयोगका प्रवक्ता सहसचिव राजेन्द्रकुमार पौडेलले बताए।
उक्त करिडोरमा पृथ्वी राजमार्गसँग जोड्ने गरी अहिले ७ वटा पुल रहेका छन्। तिनै पुल हुँदै ठाउँ ठाउँबाट पृथ्वी राजमार्गलाई बाइपास गर्ने उनको भनाइ छ। अहिले ट्रयाक भएको ठाउँमा सडक फराकिलो बनाउने र ठाउँ ठाउँमा नयाँ ट्रयाक बनाइने छ।
त्यसका लागि संघ, प्रदेश र स्थानीय सरकारले लागत साझेदारी गर्नेबारे पनि छलफल भएको छ। स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधि पनि सकारात्मक रहेकाले आगामी आर्थिक वर्षबाट निर्माण शुरु गर्ने राष्ट्रिय योजना आयोगले जनाएको छ।
वैकल्पिक राजमार्गका सन्दर्भमा यसअघि नै विभिन्न ३ वटा निकायले अध्ययन गरिसकेका छन्। ती अध्ययनबाट पनि पृथ्वी राजमार्गको बढ्दो सवारी चापलाई व्यवस्थित गर्न त्रिशुलीको अर्को किनार हुँदै वैकल्पिक राजमार्ग निर्माण गर्नुपर्ने देखिएको आयोगले जनाएको छ।