काठमाडाैं । राष्ट्रियसभाका सांसदले मुलुकका धेरै जिल्लामा विपद्जन्य घटना निम्तिएको र यसले जनधनको क्षति भएको उल्लेख गर्दै प्रभावितको उचित व्यवस्थापन र राहत दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रियसभाको बुधबारको बैठकको शून्य समयमा भाग लिएर बोल्दै सांसद विमला घिमिरेले वर्षाका कारण किसानले गत वर्ष क्षति बेहोरेको धानको राहतसमेत नपाएको बताइन्।
उनले सरकारले क्षतिको अभिलेख मात्रै सङ्कलन गरेर क्षतिपूर्ति नदिएको अवस्थामा अहिले फेरि धानका लागि मलसमेत नपाउनु विडम्बना भएको बताइन् । उनले पेट्रोलियम पदार्थको मूल्य घटेर आए पनि नघटाइएको भन्दै सरकारको ध्यानाकर्षण गराइन् । उनले बाढी पहिरो प्रभावितको उचित व्यवस्थापन र राहत दिन पनि आग्रह गरिन्।
अर्का सांसद शारदादेवी भट्टले यस वर्ष पनि वर्षाका कारण मुलुकका धेरै क्षेत्रमा ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै प्रभावित नागरिकलाई उचित राहत दिन आग्रह गरिन्।