म्याग्दी। म्याग्दीका तीन वटा पालिकालाई जिल्ला सदरमुकामसँग जोड्ने बेनी–दरबाङ सडक एक हप्तापछि खुलेको छ । मङ्गला र मालिका गाउँपालिकाको सिमानामा रहेको दुखु खोलाको पुलमा पर्खाल बगाएर जोखिम भएपछि आवतजावत बन्द गरिएको सडक एक हप्तापछि खुलाइएको हो ।
पर्खाल निर्माण गरेर मर्मत गरेपछि सडक खुलेको हो। सडक विभागका अनुसार वर्षाका कारण अझै पनि तीन वटा मुख्य सडक पूर्ण र १२ वटा आंशिक रुपमा बन्द छन् ।
कर्णाली राजमार्ग, साँफेबगर–मार्तडी–कोल्टी सडक र बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडकका विभिन्न खण्ड बन्द छन् । बालाजु–त्रिशूली–धुन्चे–स्याफ्रुबेसी सडक रसुवाको बनुवामा अवरुद्ध भएकोमा वैकल्पिक सडक खुलाएर साना गाडी जाने व्यवस्था मिलाइएको डिभिजन सडक कार्यालय नुवाकोटले जनाएको छ ।
कोसी राजमार्ग, पृथ्वी, त्रिभुवन राजमार्ग, डुम्रे–बेसीसहर–चामे सडक, कर्णाली राजमार्ग र पुष्पलाल मध्यपहाडी राजमार्गको विभिन्न खण्ड बाढी र पहिरोका कारण अवरुद्ध बनेकामा आंशिक रुपमा खुलाइएको सडक विभागले जनाएको छ ।