काठमाण्डौं। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ राहुघाटको बस्ती, सडक र पुललाई जोखिम बनाएको पहिरो नियन्त्रण गर्न विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ। भू–तथा जलाधार संरक्षण कार्यालयले पहिरो नियन्त्रण योजना सञ्चालनका लागि डिपिआर तयार पारेको हो।
कार्यालयले दुईकरोड ३४ लाखको लागत अनुमानसहित डिपिआर तयार गरिएको बताइएको छ। भू–गर्भविद्हरुको टोलीले चार चरणमा स्थलगत अध्ययनगरेर तयार पारेको डिपिआर यसै वर्षदेखि कार्यान्वयन गर्ने बताइएको छ। आकस्मिक भू–तथा पहिरो नियन्त्रण कार्यक्रममार्फत राहुघाटको पहिरो रोकथामगर्ने योजनाछ।
नाली बनाएर भल व्यवस्थापन गर्ने, गल्छी संरक्षण र वृक्षरोपण गरेर बायो इञ्जिनीयरिङ गरिने बताइएको छ। राहुघाट सल्लेरी वनको पाखोबाटखस्ने पहिराका कारण ३० घरधुरीको बसोबास रहेको राहुघाट बस्ती जोखिममापरेको स्थानीयले बताए। उक्त पहिरा का कारण म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा सवारी साधन आवतजावतमा समस्या भएको छ।
गलेश्वर–पिप्ले–भगवती–बेगखोला सडक आयोजना निर्माणका क्रममा तीन वर्षअघि सडक विस्तार गरिएपछि करिब ६० मिटर लामो र ५० मिटर चौडा पाखो बग्न थालेको थियो। कमजोर भू–धरातल भएको पाखोमा डोजर चलाएर सडक खनिएको मूलको पानीले भेल आएको र नजिकै राहुघाट जलविद्युत् आयोजनाको सुरुङ निर्माणका लगि बिस्फोटक पदार्थ पड्काउँदा भएको कम्पनले पहिरो आएको थियो।
एक वटा घर पहिराले भत्किएको छ। बर्खामा ठूलो पानी पर्दा राहुघाटका बासिन्दा गलेश्वर, घुमाउने ताल, तिल्लेनी र गायत्री मन्दिरमा गएर सुत्ने गरेका छन्। पहिरो गएपछि गलेश्वर–पिप्ले खण्डको करिब तीन किलोमिटर सडक निर्माण रोकेर घुमाउनेताल–पिप्ले वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ।