काठमाण्डौं। पर्साको ग्रामीण भेगका जनतालाई लक्षित गरी वीरगञ्ज महानगरपालिका–१७ र १९ जोड्ने तिलावे नदीमा निर्माण गरिएको पक्की पुलको उद्घाटन गरिएको छ। उक्त पुलको हिजो उद्घाटन गरिएको हो।
पुलको एक कार्यक्रमबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले संयुक्तरुपमा उद्घाटन गरेका हुन।
कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री राईले विभिन्न बहाना बनाएर समयमै आयोजनाको काम सम्पन्न नगर्ने निर्माण व्यवसायीलाई नियमानुसार कारबाही प्रक्रिया अघि बढाइने बताए। मन्त्रालयअन्तर्गत रहेका विभिन्न सडक, खानेपानी, सिँचाइ अन्य पूर्वाधारसहितका राष्ट्रियस्तरका आयोजना समयमै निर्माण सम्पन्न होस् भन्ने उद्देश्यले मन्त्रालयले काम अघि बढाएको मन्त्री राईले बताए।
सोही अवसरमा मन्त्री राईले पर्साको वीरगञ्जस्थित गण्डकदेखि मितेरी पुलसम्मको मेनरोड फराकिलो हुने जानकारी गराए। त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको साढे २२ मिटर दायाँ र साढे २२ मिटर बायाँ बनाइने उनले बताए। वीरगञ्जलार्ई ग्रामीण भेगसँग जोड्ने तिलावे पुलको उद्घाटन गर्दै मन्त्री राईले त्रिभुवन राजपथअन्तर्गत पर्ने गण्डकदेखि मितेरी पुलसम्मको सडकको अतिक्रमण हटाइने बताए।