काठमाडौं। सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनको काम भदौबाट सुरु गर्ने भएको छ। सर्वोच्च अदालतले नयाँ ढंगबाट निर्माण प्रक्रिया सुरु गर्न बाटो खोलेसँगै सरकारले विमानस्थल निर्माणको सम्भाव्यता अध्ययनको काम भदौबाट सुरु गर्ने भएको हो।
यसका लागि हवाई क्षेत्रका विज्ञ विरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठन गरिएको १० सदस्यीय टोलीबीच आइतबार छलफल भएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए।
‘आज विज्ञ समूहबीच सम्भाव्यता अध्ययन प्रक्रिया सम्बन्धी छलफल भएको छ। भदौबाटै एक महिना भित्र यो सम्भाव्यता अध्ययन सम्पन्न गर्ने योजना छ,’ प्रवक्ता निरौलाले भने, ‘उहाँहरुले बुझाउनु भएको अध्ययन प्रतिवेदनको आधारमा निर्माण कार्य अगाडि बढाइनेछ।’
मन्त्रिपरिषद्ले हवाई विज्ञ बीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा १० जनाको अध्ययन समिति गठन गरेको थियो।