वीरगञ्ज। मानमत–मटिअर्वा सडकखण्ड अन्तर्गत बाराको कलैया क्षेत्रमा साढे ३ किलोमिटर सडक कालोपत्रे हुने भएको छ। कलैया उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रमा पर्ने संस्कार एफएमदेखि दुर्गा स्कुलसम्मको सडक कालोपत्रे गर्न लागिएको हो।
३.६७८ किलोमिटर सडकको दुवैतिर नाला पनि निर्माण हुनेछ। पूर्व–पश्चिम राजमार्गलाई मटिअर्वा भन्सारसम्म जोडन भारत सरकारको सहयोगमा उत्तरदक्षिण मानमत मटिअर्वा सडक बनाईएको थियो।
२८ किलोमिटर सडकखण्डमा भरत चोकलगायत कलैयाको मुख्य बजार क्षेत्र पर्छ। मानमत मटिअर्वा सडक खण्डमा साढे ३ किलोमिटर सडक बन्न नसक्दा कलैया बजार नै कुरुप देखिँदै आएको थियो। भौतिक पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद इस्तियाक राईले सडक तथा नाला बनाउने कार्यको २९ साउन शनिबार शिलान्यास गरेका थिए।
मानमत मटिअर्वा सडकखण्डमा बाँकी काम सम्पन्न गर्नका लागि सप्तकोशी जलाधार ओमसाई एण्ड कम्पनी जेभी नयाँ बानेश्वर काठमाण्डौंले ठेक्का लिएको हुलाकी राजमार्ग सडक योजना कार्यालय वीरगञ्जले जनाएको छ।
सडक तथा नाला निर्माण कार्यका लागि ३६ करोड ५२ लाख ७८ हजार ७२४ रुपैयाँ ६० पैसा (भ्याट पिएससमेत) लागत अनुमान गरिएको थियो। तर ठेकेदार कम्पनीले १४ करोड २० लाख ९२ हजार ४०५ रुपैयाँ कममा अर्थात २२ करोड ३१ लाख ८६ हजार ३१८ रुपैयाँ ९४ पैसामा ठेक्का सकार गरेको छ। ३.६७८ किलोमिटर ६ लेन सडकको चौडाइ ३० मिटर छ। फुटपाथको चौडाइ २।३० मिटर छ भने मेडियन (डिभाईडर) को चौडाइ २ मिटर छ।
०७८ माघ २ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडक र नालाको काम ०७९ माघ १ गतेसम्म सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख छ। हुलाकी राजमार्ग योजना कार्यालयका अनुसार उक्त सडक तथा नाला निर्माणका लागि हालसम्म ५० लाख ६८ हजार ६ सय ६४ रुपैयाँ (भ्याट, पिएससमेत) खर्च भईसकेको छ।