काठमाडौं। गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने तयारी गरिएको छ। नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा नियमित उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्यान्डलिङ शुल्कमा ५० प्रतिशत छुट दिने तयारी गरेको हो।
प्राधिकरणले बिहीबार नै नेपाल वायुसेवा निगमलाई यसबारे पत्राचार गर्ने तयारी गरेको क्यानका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन्।
उनले भने, ‘जिआइएमा उडान संख्या र यात्रु चहलपहल वृद्धिका गर्न प्राधिकरणले सुरुवाती अवस्थामै ल्याण्डिङ, पार्किङ, कम्युनिकेसन, नेभिगेसन बापतको शुल्कमा छुट दिइसेकको छ। वायुसेवाले ग्राउण्ड ह्याण्डलिङमा पनि छुटको अपेक्षा गरेका छन्। विमानस्थलमा उडान संख्या र यात्रु चहलपहल बढाउन हामीले निगमलाई आजै ५० प्रतिशत छुट दिने गरी प्रस्ताव गर्दैछौं।’
ग्राउण्ड ह्याण्डलिङको काम अहिले निगमले नै गर्दै आएको छ। एकपटक भैरहवा आउँदा एउटा वायुसेवा कम्पनीले करिब तीन लाख रुपैयाँ शुल्क तिर्दै आएका छन्। ५० प्रतिशत छुट कार्यान्वयनमा आएको अवस्थामा प्रति उडान अवतरण शुल्क जम्मा डेढ लाख रुपैयाँमा झर्नेछ।