काठमाडौं। अपर तामाकोशी हाइड्रोपावर कम्पनी लिमिटेडको १४ औं वार्षिक साधारणसभा शुक्रबार (भोलि) हुने भएको छ। अपर तामाकोशी हाइड्रोको साधारणसभा भोलि बिहान ११ बजे काठमाडौं, कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने भएको हो।
साधारणसभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ।
साधारणसभामा सर्वसाधारण शेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने एक जना महिलासहित चार जना सञ्चालकहरूको निर्वाचन समेत हुनेछ ।
साधारणसभाको विशेष प्रस्तावमा पूँजीवृद्धिको विषय रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार साधारणसभाले हाल कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
हाल कम्पनीको चुक्तापूँजी रू। १० अर्ब ५९ करोड रहेको छ । कम्पनीले सोही पूँजीको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद शेयर जारीपश्चात कम्पनीको चुक्तापूँजी रू २१ अर्ब १८ करोड पुग्नेछ ।