सल्यान। छत्रेश्वरी गाउँपालिका–२ कालाखोलामा स्थानीय आफैं जुटेर अस्थायी पुल बनाएका छन्। स्थानीयले श्रमदान गरी बाँसको पुल बनाएका हुन्।
यूट्युवमा पुल बनाएको देखेकाले त्यसको सिको गरेर पुल निर्माण गरेको स्थानीय कृष्णबहादुर बस्नेतले बताए । उनकाअनुसार अस्थायी रुपमा निर्माण गरिएको पुल तीन वर्षसम्म उपयोग गर्न सकिने छ । स्थानीय स्रोत साधन र श्रमको उपयोग गरी पुल निर्माण गरिएको उनले बताए ।
अस्थायी पुलमा मोटरसाइकल समेत चलाउन सकिने बस्नेतको भनाइ छ । वर्षाको समयमा दादर, दहखोला, गोठीखोला र चोरडाँडा, लिरेडाँडाका वासिन्दालाई आवतजावतमा पुल बनेपछि सजिलो भएको उनले बताए ।
स्थानीय भरत वस्नेतले पुल बनेपछि स्कुले बालवालिकालाई खोला वारपार गर्न सजिलो हुने बताए । श्रमदान गर्ने चलन विस्तारै हराउँदै जान थालेको समयमा गाउँमा गरिने रचनात्मक कार्यले सकारात्मक सन्देश दिने स्थानीय तेजवहादुर योगीले बताए।