काठमाडौं। ७५ हजार घुससहित एक इञ्जिनियर पक्राउ परेका छन्। सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका इञ्जिनीयर अम्लेशकुमार निक्लम तनहुँको दमौली बजारबाट पक्राउ परेका हुन्।
स्याङ्जास्थित एक विद्यालय पुनः निर्माणका क्रममा घुस मागेको अभियोगमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई दमौलीस्थित एक होटलबाट नियन्त्रणमा लिएको हो । “निजलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ, अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयसँग समन्वय गर्दैछौँ”, प्रहरी नायब उपरीक्षक युवराज खड्काले भने, “पक्राउ परेका प्राविधिक करारका कर्मचारी रहेको बुझिएको छ ।”
विद्यालयको भवन पुनः निर्माणका क्रममा अन्तिम निकासाका लागि काम गरिदिनका लागि निजले रकम माग गरेको बताइएको छ । केही समय पहिलादेखि नै रकम माग गर्दै आएका उनलाई आज दमौलीमा रकम दिने शर्तसहित बोलाइएको थियो । उनी आजै बिहान सप्तरीबाट दमौली आइपुगेका थिए ।
इञ्जिनीयर निक्लम शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जामा असार मसान्तसम्म करारमा कार्यरत थिए । साउन १ गतेदेखि करारमा कार्यरत कर्मचारीको म्याद नथपिएका कारण उनी कार्यालयमा हाजिर नरहेको शिक्षा विकास तथा समन्वय एकाइ स्याङ्जाका प्रमुख गुरुप्रसाद पौडेलले जानकारी दिए ।