पश्चिम नवलपरासी। पश्चिम नवलपरासीको गोपीगंज–त्रिवेणी हलाकी सडक निर्माणको म्याद सकिन ४ महिना बाँकी हुँदा जम्मा ३० प्रतिशत काम पूरा भएको छ। १५ किलोमिटर दुरीको हुलाकी सडकको काम तीन वर्षको समयमा ३० प्रतिशत मात्र पूरा भएको हो।
सडक वर्षाको समयमा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने हुँदा दैनिक यात्रा गर्नेलाई कठिनाइ हुने गरेको छ। यो सडकका अधिकांश भाग फुटेर खाल्डाखुल्डी भएको छ भने सडकमा पानी पर्दा सडक पुरै हिलाम्मे हुने हुँदा यात्रामा निकै कठिनाई भोग्नु परिरहेको स्थानिय युवराज मौर्यले जानकारी दिए । उक्त १५ किलोमिटर दुरीको हुलाकी सडक तल बर्दघाट नगरपालिका, प्रतापपुर गाउँपालिका हुदै सुस्ता गाउँपालिकालाई जोडेको छ ।
नारायणचोक (गोपीगंज) देखि रानीनगरसम्म (त्रिवेणी) कुल १५ किलोमिटरको उक्त हुलाकी सडक निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी ललितपुरले ठेक्का लिएको छ । २ लेनको पिच सडक निमार्णका लागि ठेकदार कम्पनीले भ्याटसहित ४९ करोड, ६७ लाख ६२ हजार ५४६ रुपैयाँमा ठेक्का लिएको छ ।
बाटो निर्माणका लागि ठेकदार कम्पनीले २०७६ मंसिर १ गते सम्झौता गरि २०७९ मंसिर १ गतेसम्म सम्पन्न गर्नु पर्ने म्याद रहेको छ । ठेक्काको म्याद ४ महिना भित्रै सकिन्छ तर अहिलेसम्म जम्मा ३० प्रतिशत मात्र काम भएको पाइएछ । करिब ३ वर्षको समयमा पनि ठेकेदारले काम सम्पन्न गर्न नसक्दा स्थानीयहरु सास्ती खेप्न बाध्य भएका छन् । ठेकेदारलाई समयमै काम सम्पन्न गर्न पटक–पटक ताकेता गर्दा पनि खासै चासो नदेखाएको प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए ।