काठमाडौं। करिब १० अर्ब लागतमा भिजन इनर्जीले प्रवर्द्धन गरिरहेको ५७/५ मेगावाटको नुप्चे लिखु जलविद्युत आयोजनाको विद्युत प्रवाहका लागि प्रसारणलाइन निर्माणको कार्य अघि बढेको छ।
रामेछापको उमाकुण्ड गाउँपालिका र गोकुलगंगा गाउँपालिका प्रभावित क्षेत्र रहने सो आयोजनाको प्रसारणलाइन २४ किलोमिटर लम्बाइको हुने भएको छ। त्यस्तै १३२ केभी डबल सर्किटमा निर्माण हुने लाइनमा कुल ८४ वटा टावर निर्माण हुने सो कम्पनीले जनाएको छ। उक्त आयोजनाले सो क्षेत्रमा पार्न सक्ने प्रभावको वातावरणीय प्रभाव मूल्यांकन रिपोर्ट तयार पार्ने क्रममा सोही क्षेत्रका सार्वजनिक सरोकार राख्ने निकायहरुसँग रायसुझाव माग गरेको छ।
हाल नुप्चे र लिखु नदिलाई एकै ठाउँमा मिसाएर आयोजना निर्माण सुरु गरिएको छ। साढे १० अर्ब रुपैयाँ लागत अनुमान गरिएको सो आयोजनाबाट आयोजना निर्माण पुरा भएपछि वार्षिक साढे दुई अर्ब रुपैयाँसम्म विद्युत बिक्रीबाट आम्दानी हुनेछ।