सुनसरी। धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विद्यार्थीलाई श्रमदान गराउन ऐन बनाउने बताएका छन्। बिहीबार सामाजिक सञ्जालमार्फत मेयर साम्पाङले सामूहिक श्रमबाटै देश बन्ने भन्दै विद्यार्थीलाई श्रमदान गराउन ऐन नै बनाउने बताएका हुन्।
उनले करोडौंको ठेक्काले धरानमा नबनेको प्रोजेक्ट श्रमदानबाट सम्पन्न भएको र कुनै योजना सम्पन्न हुने प्रक्रियामा रहेको बताउँदै अब विद्यालयस्तरबाटै श्रमदानको महत्त्व बुझाउन ऐन बनाउन लागेको जानकारी दिएका हुन्।
मेयर साम्पाङले कक्षा ९ देखि १२ सम्मका विद्यार्थीलाई अनिवार्य श्रमदान गराउने ऐन बनाउने बताए। उनले कम्तीमा एक वर्षमा ७ पटक श्रमदान गर्नुपर्ने तर दिनभर नभएर सीमित समयको लागि श्रमदान गर्नुपर्ने बताए।
बिना ऐन श्रमदानको लागि आग्रह गर्दा धेरैले विरोध गरेको हुँदा ऐन बनाउन लागेको उनको भनाइ छ।